October 18, 2017

शुल्क बृद्धिका विषयमा सरोकारवालाहरुबीच आरोपप्रत्यारोेप सुरु

काठमाण्डौ, ४ वैशाख । नयाँ शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालयहरुले बढाएको शुल्कको विषयलाई लिएर शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच आरोपप्रत्यारोेप सुरु भएको छ ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित अन्तर्क्रिया कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एनप्याब्सनका कर्णबहादुर शाहीबीच शुल्कका विषयमा आरोपप्रत्यारोप चलेको थियो ।

प्याब्सनका अध्यक्ष सम्बाहाम्फे तथा एनप्याब्सनका अध्यक्ष शाहीले आफ्नो संगठनमा आबद्ध विद्यालयहरुले शुल्क नबढाए पनि अभिभावकहरुले बिना आधार शुल्क बढाएको प्रोपोगाण्डा फैलाएको बताए । त्यस्तै एनप्याब्सनका अध्यक्ष शाहीले शुल्कको वैज्ञानिक मापदण्ड निर्धारण गरिनुपर्ने भनाइ राखे ।

अभिभावक संघका अध्यक्ष पुरीले प्याब्सन र एनप्याब्सनले सर्वोच्च अदालतको परामादेशलाई समेत वास्ता नगरी मनोमानी तरिकाले शुल्क वृद्धि गर्दा अभिभावकहरु मारमा परेको बताए ।