August 19, 2017

शिक्षामा नीजि क्षेत्रले ब्रम्हलुट गरेकाे अभिभावक सँघकाे अारोप

काठमाण्डौ, १४ चैत्र । शिक्षा क्षेत्र सम्वद्ध सँस्थाका नेताहरुले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको विकास हुन नसकेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबको कार्यक्रममा बोल्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको आरोप लगाए ।

हचुवाका भरमा पटक पटक शिक्षा नियमावली परिवर्तन गरिनु र काम पुरानै शैलीमा हुने गरेकाले यस क्षेत्रको विकास हुन नसकेको उनीहरुको धारणा थियो ।

अभिभावका संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण नीजि नाम चलेका विद्यालयहरुले आर्थिक ब्रम्ह लुट गर्दै अभिभावक माथि धान्नै नसक्ने आर्थिक भार थुपारेको बताए ।

उनले विश्वमै कँहि नभएको शैक्षिक कर नीजि विद्यालयले सिधै एक प्रतिशत कर विद्यार्थीको टाउकोमा लाद्नु गलत भएको भन्दै यस्तो कर विद्यार्थीले नभएर सञ्चालकले बेहोर्नु पर्नेमा जोड दिए ।

प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले नेपालको भूगोल अनुरुपको शिक्षा प्रणाली लागू गर्न नसक्दा समस्या देखिएकाले सोच अनुरुप प्रतिफल प्राप्त हुन नसकेको कुरा व्यक्त गरे ।

राज्यका महत्वपूर्ण पदमा बसेका व्यक्तिहरुले नेपालको शैक्षिक क्षेत्रका बारे जानकारी नहुँदा विभिन्न समयमा नेपाल सरकारले नीजि विद्यालयमा पटक पटक अंकुश लगाउने काम गलत भएको सम्बाहाम्फेले बताए ।

एन प्याब्सनका अध्यक्ष कर्ण बहादुर शाहीले नेपालका नीजि विद्यालयले समय अनुरुप सञ्चालन हुँदै आएको र सरकारी विद्यालयको सुधार भए नीजि विद्यालय डुब्छन् भन्ने भनाई भ्रम मात्र भएको भन्दै सरकारले प्रदान गर्न नसकेको शिक्षा क्षेत्रको विकासमा अहम् भूमिका खेलिरहेको आशय व्यक्त गरे ।