August 17, 2017

शिक्षकको कुटाईबाट पीडित विद्यार्थी न्यायको लागि अदालत जाने

काठमाण्डौ, ६ चैत्र । गत फागुन १५ गते नयाँ बानेश्वरस्थित एम्बिसन हायर सेकेण्डरी स्कुलका शिक्षक दावा मोक्तानको कुटाईबाट घाईते भएका जेनिश राईका पिता मोहन राई छोराको उचित न्यायको लागि अदालत जाने भएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोहन राईले बालबालिको हक अधिकारलाई हनन् गर्ने शिक्षकलाई एम्बिसन ऐकेडेमि र प्रहरी प्रशासनले समेत कारबाही नगरेको भन्दै न्यायका लागि अदालत जाने बताएका छन् ।

उनले भने, ‘मैले स्कुलका प्राध्यापकसँग घटनाको बारेमा जानकारी गराउँदा उल्टै उहाँले मेरो शिक्षकलाई आरोप लगाउँने ? यो त सामान्य हो भन्दै थर्काउनु भयो, त्यसपछि बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति, बालबालिका खोजतलास समन्वय समिति लगायत सबै आधिकारिक निकायमा जाहेरि दिँदा पनि छोराले न्याय नपाउँदा अन्ततः बाध्य भएर अदालत जाने भएको छु ।’
पाँच कक्षामा अध्ययनरत जेनिश राई कक्षाको क्याप्टेनसँग सोधेर कलममा मसि भर्न गएका थिए ।

शिक्षक मोक्तानको कुटाईबाट जेनिशको बाँया आँखा र टाउकोमा चोट लागेको थियो । उनले भने ‘मैले त्यस्तो केही गल्ति गरेको थिईन, सरले मसि भर्न लागेको बेला हिर्काउनु भयो ।’

सरले पिटेको भनेर घरमा नभन्नु, यदि भनेसि फेरि पनि पिट्ने धम्की दिएको पीडित जेनिश राईले बताएका छन् । उनी त्यस दिन देखि स्कुल गएका छौनन्।