शाश्वत धामले साँस्कृतिक धार्मिक पर्यटनको विकास हुने राष्ट्रपतिको विश्वास

विद्रोही गिरी
नवलपरासी, २४ फाल्गुन । राष्ट्रपति विद्यादेवी भण्डारीले शाश्वत धामले साँस्कृतिक र धार्मिक पर्यटनको विकास गराउने विश्वास व्यक्त गर्नु भएको छ ।

उनले मंगलबार नवलपरासीको दुम्कौलीमा चौधरी गु्रपले निर्माण गरेको शाश्वतधामको उद्घाटन गर्दै उक्त कुरा बताएकी हुन ।आयुर्वेद र योगको ज्ञानको विकास भएको लामो इतिहास भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले साँस्कृतिक विविधता मानव जातिको वैभवको रुपमा रहेकाे छ भनिन।

दया, करुणा र सद्भाव कायम गरी राष्ट्रको एकता कामय गर्दै सामाजिक रुपान्तरणमा नैतिक ध्यान दिने आशा रहेको उनकाे भनाई थियाे ।

कार्यक्रममा आर्ट अफ लिभिङ्गका संस्थापक श्री श्री रविशंकरले शाश्वत जीवन देख्न शाश्वत धाम आउनु पर्ने बताए । उनले भने ‘सबै धर्म एक साथ  छन ।’ सोही अवसरमा जयपुर फ्रुटका डा. डि आर मेहताले कृत्रिम हाटखुट्टा बनाउन सहयोग पुर्‍याउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन ।

भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले शाश्वत धामको विकासले यस क्षेत्रको गरिमा बढेको धारणा व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले योग र साधनाको महत्वपूर्ण केन्द्रको रुपमा सनातन धर्म रहेको र सनातन मुल्य र मान्यताको अध्ययन केन्द्रको रुपमा शाश्वत धाम रहेको बताउदै नेपाली संस्कृतिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताए ।

श्रीलंकाका मन्त्री एवम् युनाटेड नेशनल पार्टीका नेता दया गमावेले आर्ट अफ लिभिङ्गले जीवन जिउने कला सिकाएको बताए । कार्यक्रममा हिन्दु, बौद्ध, सिख जैन धर्मका गुरुहरुको सहभागिता रहेको थियो ।

आज नै शाश्वतधामको प्राण प्रतिष्ठान गरिएको छ । दोस्रो चरणको कार्यक्रम धर्मसभामा पूर्व राजा ज्ञानेन्द्र शाह आउने कार्यक्रम छ ।