November 20, 2017

शरद गाैचन हत्याकाण्ड : पाँच जना पक्राउ, मुख्य योजनाकार समिरमान बस्नेत र मनोज पुन

काठमाण्डौ २८ कार्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले हत्यामा संलग्न भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ,  काठमाडौंका प्रकाश बुढाथोकी र नुवाकाेटका राजिव तामाङ लाई पक्राउ गरेकाे हो । पक्राउ परेका मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न मध्ये समिरमान बस्नेत र मनोज पुनसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा सहित अाठ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

माग बमोजिमकाे फिरौती रकम नदिएकै कारण समिरमानले गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । घटनमा रुपन्देहीका मनोज पुनकाे पनि संलग्नता भएकाे प्रहरीले बताएकाे छ ।  पुन एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार छन् ।

मुख्य योजनाकार पुन र बस्नेत लामो समय देखि देश बाहिर लुकेर बसेका छन । ती दुबै जना माथि हत्या, फिरौति र अपहरणका दर्जन बढी मुद्दा छन । ती दुबैले विदेशबाटै नेपालमा घटनाकाे योजना बनाउने गरेकाे खुलेकाे छ ।

ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यस्तै घटनामा दुई वटा गोलि प्रहार गरिएको र दुवै गोली फरक फरक हतियारबाट प्रहार भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए । गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो ।