June 27, 2017

व्यवस्थापिका संसद्को लेखा समितिमा नयाँ सभापति

१७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् डोरप्रसाद उपाध्याय व्यवस्थापिका संसद्को लेखा समितिको सभापतिमा निर्वाचित भएका छन ।

समितको कार्यालयमा आज भएको निर्वाचनमा एमालेका उम्मेदवार पशुपति चौलागाईलाई पराजित गर्दै उपाध्याय सभापति बन्न सफल भएका छन । उपाध्यायले २३ मत प्राप्त गरेका छन भने चौंलागाइले १६ मत प्राप्त गर्दै हार बेहोरेका छन । नौ जना सांसद भने निर्वाचनमा अनुपस्थित थिए । जेष्ठ सदस्यले मतदान गर्न नपाउने व्यवस्था अनुरूप सवेन्द्रनाथ शुक्लले भने मत दिन पाएका थिएनन ।

राप्रपाले नेकपा एमालेका उम्मेदवार चौंलागाईलाई मत दिएको थियो । सभापतिमा निर्वाचित भएपछि उपाध्यायले सुशासनसम्बन्धी बिषयमा आफुले सभापतिको हैसियतले कुनै सम्झौता नगर्ने बताएका छन ।
उपाध्याय नेकपा माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेका थिए । समितिका सभापति जनार्दन शर्मा उर्जमन्त्री मन्त्री भएपछि समितिको सभापति पद लामो समयदेखि रिक्त रहेको थियो ।