October 20, 2017

विवेकशील नेपाली दलले यसरी छनोट गर्दैछ उम्मेद्वार

काठमाण्डौ, १४ चैत्र । विवेकशील नेपाली दलले स्थानीय निर्वाचनको लागि ‘खुल्ला उम्मेदवार नीति’ अनुरुप उम्मेदवारहरु छनोट गर्ने जनाएको छ ।

यो नीति पहिलो चरणमा काठमाडौं महानगरपालिकामा लागु गरिने बताएको छ । उम्मेदवार छनौटमा भाग लिन चाहानेहरुका लागि फारम उपलब्ध गराउने जनाएको छ । पहिलो चरणमा बहुमत स्वतन्त्र र विवेकशील नेपाली दलका प्रतिनिधि सहितको निर्णायक समितिबाट आवेदकको मूल्याङ्कन गरी प्रारम्भिक सिफारिस गर्नेछ ।

दोश्रो चरणमा सम्भावित उम्मेदवार प्रतिको जनसमर्थन, दलको मूल्य मान्यतासँग निजको आचरणको मेल, नीतिगत र कार्यगत स्पष्टता र अन्तरवार्ताको आधारमा मूल्याङ्कन गरी पार्टीलाई उम्मेदवारको लागि अन्तिम सिफारिस गर्नेछ ।

उम्मेदवारका लागि आवेदन दिनेले व्यक्तिगत विवरणका साथै उम्मेदवारी दिनुको कारण, निर्वाचित भएमा गर्ने मुख्य पाँच काम र आफूलाई उम्मेद्वार छान्न सर्वसाधारणमा अपिल पेश गर्नु पर्नेछ । ‘यो नीति आम नागरिकका अपेक्षा र नागरिकमै आधारित नेतृत्व निर्माण गर्ने दिशामा एक कोसेढुंगा हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ, विवेकशील नेपाली दलले भनेको छ ।