August 16, 2017

विराटनगर किंग्सको तेस्रो जित

काठमाण्डौ, २ वैशाख । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत छैटौं दिनको पहिलो खेलमा विराटनगर किंग्सले तेस्रो जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा विराटनगर किंग्सले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले पराजित गरेको हो ।

जितपछि विराटनगर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ६ अंक रहेको रुपन्देही च्यालेन्जर्स रनरेटका आधारमा अंक तालिकाको पहिलो स्थानमा रहेको छ । विराटनगर प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । विराटनगर किंग्सले ४ मध्येको ३ खेल जितेको हो । यसअघि रुपन्देही च्यालेन्जर्सले पहिलो तीनै खेल जितेर प्लेअफमा पुगिसकेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको कञ्चनपर १७ ओभरमा ८० रन मात्रै बनाएर अलआउट भयो । कञ्चनपुरका लागि हसिम अन्सारीले २७ रन बनाए । कुसल भुर्तेलले १९ र आशिष पोखरेलले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । कञ्चनपुरका ४ जना खेलाडी शुन्यमा आउट भए । विराटनगरका लागि सुशील कँडेल र सन्दिप लामिछानेले ४–४ विकेट लिए । जितेन्द्र मुखीयाले २ विकेट लिए ।

८१ रनको झिनो लक्ष्य सहित जवाफी ब्याटिङमा आएको विराटनगर किंग्सले ९.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । इनिङ्स सम्हाल्ने क्रममा विराटनगरको तर्फबाट कप्तान शरद भेषावकरले १५ बलमा २८ रन बनाए । यसैगरी आकाश थापाले १२ र प्रनित थापा मगरले ११ रन बनाए । कञ्चनपुर आइकोनिकका तर्फबाट सागर पुन एक्लैले ५ विकेट लिए ।