विप्लवलाई अाेलीकाे चेतावनी ‘सुतली बम पडकाई चन्दा उठाउन बन्द गर्नुस’

काठमाण्डौ १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन ।

रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले सुतली बम पडकाएर चन्दा उठाउने काम बन्द गर्न सुझाएका छन ।

विप्लव समुहले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोश व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी दिए । स–साना समुहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिदै खाल उठिसकेपछि च्याँखे थापेर केही नहुने टिप्पणी गरे ।

उनले अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै देश विकासमा आफू केन्द्रित भएको धारणा राखे । देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने जिकिर गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारत र चीन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नुपर्ने बताए ।

विगतमा राजनीतिक दल वा नेतालाई भारत परस्त र चीन परस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै उनले अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नुपर्ने बताए ।

उनले अहिले नेतृत्वपंक्तिहरु अग्नीपरिक्षामा रहेको भन्दै समृद्ध नेपाल निर्माण गर्ने अवसरको सदुपयोेग गर्नुपर्ने बताए ।  बार्षिकोत्सवका अवसरमा रिपोटर्स क्लबले पत्रकारहरुलाई पुरस्कृत गरेको थियो ।