September 25, 2017

विप्लवका कार्यकर्ताले चितवनमा वरिष्ठ इन्जिनियरलाई कालोमोसो दले

चितवन १ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले  रत्ननगर नगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर प्रकाश ढुङ्गानालाई कार्यकक्षमै कालोमोसो दलेको छन ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता इन्जिनियर ढुङ्गानामाथि  सेवाग्रहीसँग घुस खाएको र सुकुम्बासीलाई बसोबास गरिरहेको ठाउँबाट हटाएर विचल्ली बनाउन दलालसँग मिलेमतो गरेको आरोप लगाएकाे छ ।

आइतबार बिहान कार्यालय समयमै नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कायकक्षमै पुगेर कालोमोसो र जुत्ताको माला लगाएका थिए । ‘भ्रष्ट’ढुङ्गानालाई कार्वाही गर्नुका पछाडि ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ ।

छरिएको पर्चामा भनिएको छ, १. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको, २. घरजग्गा र बाटोको सिफारिस गरे बापत सेवाग्राहीबाट कमिशन लिने गरेको, ३. नयाँ प्लटिङ्ममा बाटो सिफारिस गरेबापत कमिशन लिने गरेको, ४. घोल र ऐलानी जमिनलाई भू–माफियासँग मिलेर जग्गा दलालको नाममा नामसारी गरेको, ५. नहर र कुलोको जग्गालाई भू–माफियासँग मिलेर चक्लाबन्दी प्लटिङ् गर्न भूमिका निभाएको, यसबापत कमिशन लिने गरेको र ६. बिदाको दिन सरकारी सवारीसाधन प्रयोग गरी भू–माफियासँग मिलेर सुकुम्बासी बस्तीलाई यो जग्गा छोड भनी आतंकित पारेको’ उल्लेख छ । नेकपाले भदौदेखि कार्तिक महिनासम्म जनजागरण तथा प्रतिरोध अभियान चलाइरहेको छ ।