विधिवत् रुपमा होली सुरु

काठमाण्डौ, २२ फाल्गुन । परम्परागत रुपमा मानिँदै आइएको होली पर्व विधिवत् रुपमा आजबाट सुरु भएको छ । काठमाण्डौको हनुमानढोकाको दक्षिणतर्फ वसन्तपुरमा आज तीन तले चीर ठड्याएर होली पर्व सुरु गरिएको हो ।

प्रत्येक वर्ष होलीको एकहप्ता अघि रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ । वसन्त ऋतुको स्वागतसँगै साताव्यापी रुपमा होली खेल्ने चलन छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबीर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु प्रारम्भ हुन्छ ।