October 17, 2017

विकास समितिको राष्ट्रिय योजना आयोगलाई निर्देशन

काठमाण्डौ, २ चैत्र । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले दूरगामी प्रभाव पार्ने योजना तयार तथा कार्यान्वयनमा ध्यान दिन राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले खुद्रा–मसिना योजनामा भन्दा दूरगामी प्रभाव पार्ने योजना तयार तथा कार्यान्वयनमा ध्यान दिन निर्देशन दिएको हो ।

बैठकले भएका योजनाको कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेको तर्फ आयोगको ध्यानाकर्षण गराउँदै निरन्तर अनुगमनको खाँचो रहेको ठहर पनि गरेको छ ।

त्यस्तै बैठकले योजनालाई प्रभावकारी गर्नका लागी कानून तयार गरी संसदमा दर्ता गर्नका लागि पनि सरकारलाई निर्देशन दिएको छ ।

तयार भएको योजनाको प्रभावकारीताको मुल्याङ्कन गर्दै सोको प्रतिवेदन तयार गरी लेखा समितिलाई ६ महिनाभित्र बुझाउन पनि विकास समितिले निर्देशन दिएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए ।

बैठकमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सो जानकारी दिँदै मन्त्रालयका पूँजीगत खर्च ९५ प्रतिशतसम्म माथि पुर्‍याउन जेठ १६ मा नै बजेट खर्च गर्न अख्तियारी दिने प्रावधान ल्याउने बताए ।

बैठकमा समिति सदस्यहरुले योजनाका लागि योजना र अनुगमनका लागि अनुगमन बन्ने परम्परालाई अन्त्य गर्न जोड दिएका थिए ।

त्यस्तै उनीहरुले सरकारले प्रदेशमा बजेट तयार गर्दा विस्तृत अध्ययन गर्न सुझाव दिएका छन् ।