वार्ता र सहमतिमा आउन मधेशी मोर्चालाई माओवादी केन्द्रको अपिल

काठमाण्डौ, १ वैशाख । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधानका लागि अपिल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गरेको हो ।

बैठकले मधेशी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको छ । पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ,नगरमा सिंहदरबार’ तय गरेको प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् । बैठकले बैशाख ९ गते १ बजे देशका ७४४ वटै महानगरपालिका, नगरपालिका, गाउँपालिकामा चुनावी जनसभा गर्ने निर्णय गरेको छ ।

साथै यही वैशाख ३१ गतेको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकमा वैशाख ९ गतेसम्म उम्मेदवार टुङ्गो लगाइसक्ने निर्णय गरिएको छ ।