June 23, 2017

वायुसेवा निगमलाई नयाँ जहाज खरिदको कार्ययोजना पेश गर्न लेखा समितिको निर्देशन

काठमाण्डौ, २२ फाल्गुन । संसदीय समितिले एक महिनाभित्र नयाँ जहाज खरिदको कार्ययोजना पेश गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आईतबार बसेको संसदको सार्वजनिक लेखा समिति बैठकले निगमले व्यवसायिक योजना यसअघि पेश गरेपनि चित्तबुझ्दो नभएको भन्दै विश्वासिलो कार्ययोजना एक महिना भित्र पेश गर्न निर्देशन दिएको हो ।

बैठकले जी टु जि सम्झौता अनुसार खरिद गरिएको भनिएको चाईनिज जहाजको खरिद मुल्य र उपयोगको अवस्थाका बारेमा पनि समितिलाई लिखित रुपमा जानकारी गराउन निगमलाई निर्देश गरेको छ ।

त्यस्तै निगममा रणनीतिक साझेदारी ल्याउने सरकारको नीति तथा कार्यक्रम रहेको सन्दर्भमा त्यसको कार्यान्वयनमा निगम गएको नदेखिएकोले साझेदार भित्र्याउने कार्ययोजना तीन महिनाभित्र सम्पन्न गरि समितिलाई जानकारी गराउन पनि निर्देशन दिइएको सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।