June 26, 2017

वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न संसदीय समितिको निर्देशन

काठमाण्डौ, १ चैत्र । मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाट सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न संसदीय समितिले निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको वातावरण समितिले वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्नका लागी तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको हो ।

बैठकले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन खनिएका सडकमा उब्जिएको धुवाँ र धुलोका कारण वातावरण र मानव स्वास्थ्यमा परेको असरलाई ध्यान दिँदै आयोजनाको निर्माण छिटो सक्न आयोजनालाई निर्देशन पनि दिएको सभापति जनकराज चौधरीले जानकारी दिए ।

पाइप बिच्छ्याउने काम व्यवस्थित हुन नसक्दा उत्पन्न धुलो धुवाँको समस्या मुलुकका सबै क्षेत्रमा अस्तव्यस्तता र बेथिति विद्यमान छ भन्ने उदाहरण भएको उनीहरुको भनाइ थियो ।

बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय र मेलम्ची खानेपानी आयोजनाका निर्देशक रितेशप्रसाद खत्रीले उपत्यकाका ४० स्थानमा एकैसाथ एक हजार २०० जनशक्ति परिचालन गरेर पाइप बिच्छ्याउने काम गरिरहेको जानकारी दिएका थिए ।