वाणिज्यमन्त्रीद्वारा ७ महिनाकाे प्रगति विवरण सार्वजनिक

काठमाण्डौ, ७ चैत्र । वाणिज्यमन्त्री रोमी गौचन थकालीले नेपालको वाणिज्य क्षेत्रको विकासप्रति सरकार लागिरहेको बताएका छन् ।

आफू वाणिज्यमन्त्रीमा नियुक्त भएपछि ७ महिनाको अवधिमा भएका काम कारबाही र प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन् ।

मन्त्री थकालीले ७ महिनामा छिमेकी मुलुक भारत र चीनसँग द्विपक्षीय तथा बहुपक्षीय व्यापार एवं पारवहन सम्बन्धी सम्झौताहरुको नविकरण, स्वीकृति र अनुमोदन गरेको बताए ।

उनले उक्त अवधिमा व्यापार पूर्वाधार संरचनाहरुको सुधार र विकास सूचना प्रविधिमा आधारित व्यापार प्रणालीको विकास गरेको उल्लेख गरे ।

मन्त्री थकालीले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, सरकारी काम कारबाहीमा पारदर्शिता र स्वच्छता कायम गर्ने जस्ता नेपाल सरकारको नीतिलाई पूर्णत आत्मसात गर्दै सरकारी सेवालाइ थप चुस्त र गुणस्तरीय बनाउन आफू लागिपरेको बताए ।