August 19, 2017

लोहनीको नयाँ पार्टीको नाम ‘एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)’

काठमाण्डौ, १६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा नयाँ पार्टी ‘एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)’  घोषणा गरेका छन् ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै लोहनीले हिन्दू राष्ट्र पहिचान र राजसंस्था स्थापनाको मूल लक्ष्यसहित नयाँ पार्टीको घोषणा गरेका हुन् । उनले राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई समुन्नत दिशातर्फ अग्रसर बनाउनका लागि आफूले नयाँ पार्टी घोषणा गरेको बताए ।

लोहनीले नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग, बढ्दो बेरोजगारी र आर्थिक शिथिलताप्रति सरकार संवेदनशील बन्न नसकेको आरोप पनि लगाए ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले संवैधानिक राजसंस्थाको वकालत गर्दै दलीय जमिनदारी संस्कारबाट मुक्त समाज निर्माणका लागि ७ बुँदे रणनीति सहितको घोषणापत्र पनि जारी गरेको छ ।

घोषणापत्रमा संवैधानिक राजसंस्था नेपालको एकता र नेपालीहरुबीच सद्भाव राख्न आवश्यक रहेको निष्कर्षसहित त्यसको कार्यान्वयनलाई मूल लक्ष्य बनाइएको छ ।