October 17, 2017

लोकमान माथि कारवाही हुनु पर्ने महाअभियोग सिफारिस समितिको माग

२७ माघ, काठमाण्डौ । व्यबस्थापिका संसद अन्तर्गतको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कारवाही गर्नुपर्ने ठहर गरेको छ ।

समितिले कानुनी कारवाहीका लागि सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ । समितिको विहिबार सिंहदरबारमा बसेको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कार्वाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो ।

उपसमितिले बुधबार बुझाएको प्रतिवेदनमा पदमुक्त भईसकेका कार्कीलाई महाअभियोग लगाईरहन भने नपर्ने उल्लेख गरिएको छ । तत्कालीन अख्तियार प्रमुख कार्कीले अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको, लगायतका आरोप लगाई संसदमा महाअभियोग प्रस्ताव सिफारिस गरिएको थियो ।

सोही सम्बन्धमा छलफल गर्न समितिले उपसमिति गठन गरेको थियो । उपसमितिले बुझाएको प्रतिवेदन समितिले अनुमोदन गरेपछि संसदमा पेश हुनेछ । व्यवस्थापिका संसदले कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेबारे आवश्यक सुझाव दिन समिति गठन गरेको थियो ।