October 19, 2017

लिङ्ग पहिचान गरी गर्भपतन गर्ने/गराउनेलाई कानूनी कारबाही हुनुपर्ने माग

काठमाण्डौ, १५ चैत्र । लिङ्ग पहिचान गरी गर्भपतन गर्ने/गराउने व्यक्ति वा संस्थालाई कानूनी कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले लिङ्ग पहिचान गरी गर्भपतन गर्ने र गराउनेलाई कारवाही हुने व्यहोरा सहितको बोर्ड देशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा राख्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले सरकारलाई त्यस्तो कार्य रोक्ने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि निर्देश गरेको छ ।

समितिले होमियोप्याथिक चिकित्सालय अन्यत्र नसार्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति रञ्जुकुमारी झाले बताएकी छन् ।

त्यसै गरी, समितिले आयुर्वेद चिकित्सालयलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको उनले जानकारी दिएकी छन् ।

समितिका सदस्यहरुले स्वास्थ्य क्षेत्रमा ठूलो रकम खर्च भएपनि प्रभावकारी नदेखिएको भन्दै यसप्रति सरोकारवाला सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

साथै अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि कानुनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा बनेको कार्य दलले आफ्नो प्रतिवेदन पेश गरेको छ ।