Breaking News

लाङटाङ राष्ट्रिय निकुञ्जमा ‘महाहन्ट अप्रेसन’ सुरु

काठमाण्डौ १ फाल्गुन । लाङटाङ राष्ट्रिय निकुञ्जले मंगलबारबाट ‘महाहन्ट अप्रेसन’ सुरु गरेको छ । हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतिको बढी मात्रामा चोरी सिकार हुने भएकाले चार महिना सम्म निकुञ्ज क्षेत्रमा अप्रेसन गर्न लागिएको हो ।

निकुञ्जका अनुसार वनजन्य अबैध ओसार पसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र विश्वमानै दुर्लभ वन्यजन्तु हिंम चितुवा, रेडपाण्डा र कस्तुरी मृग रहेका छन । यस्ता अभियानले निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्न टेवा पुग्ने रेग्मीको भनाई छ ।

हिमाली निकुञ्जका उच्च स्थानमा पुगी सेनाले अप्रेसनमा घुम्ती गस्ती, स्वीपिङ तथा क्यापिङ अप्रेसन, एम्बुस, आकस्मिक खानतलासी लगायतका कार्य गर्ने उनले बताए ।

यसैगरि निकुञ्जमा अहिले कालिजंग गणका १ हजार एक सय सय सेना परिचालित छन । विशेष अप्रेसनका लागि अहिले तैनाथ गरिएका सेनाले अपुग हुने भए पछि २ सय ५० जना थप सेना ल्याई अपरेशन प्रभावकारी बनाउन लागिएको हो ।

नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकाय सँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको निकुञ्जभित्र नेपाली सेनाको ९ वटा र निकञ्जको १० वटा पोष्ट रहेका छन् ।

shares