लमजुङमा भूकम्प पीडितसँग निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

सृजना घिमिरे
लमजुङ, वैशाख ५ । भूकम्पले घर भत्किएको दुई बर्ष बित्नै लाग्दा लमजुङका भूकम्प पीडितले अब भने अनुदान रकम पाउने भएका छन् ।

लाभग्राही सूचीमा परेका लमजुङका भूकम्प पीडितसँग निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु गरिएको छ । ढिलै भएपनि अनुदान सम्झौता गर्न पाएकोमा भूकम्प पीडितहरु भने खुसी छन् ।

स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले ढिलै भए पनि अनुदान सम्झौता हुन थालेकोले अब छिट्टै पुनर्निर्माणले गति लिने बताए । जिल्ला समन्वय समितिका फोकल पर्सन शिव रेग्मीले जिल्लाका १३ हजार १८ घरको लाभग्राही सूची प्राप्त भएको र अझै साविकका चार गाविसको सूची आउन बाँकी रहेकाले अझै हजारको हाराहरीमा पीडितको संख्या बढ्ने जानकारी दिए ।

केन्द्रीय तथ्याङ्क विभागको सर्भेयर इन्जिनियरहरुको टोलीले घरधुरी सर्भे गरेपछि पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूची तयार पारेको हो । अनुदान सम्झौता भएकाहरुलाई जिल्लाका २६ वटा बैंक तथा वित्तिय संस्थाबाट अनुदान रकम लिने व्यवस्था मिलाइएको छ ।

नीजि आवास अनुदान सम्झौता गरेपछि पहिलो किस्ता स्वरुप ५० हजार पाइनेछ । घर निर्माणको जग पुरा भई प्राविधिक परिक्षणपछि दोस्रो किस्तामा १ लाख ५० हजार पाइन्छ भने तेस्रो किस्तामा एक लाख गरी तीन लाख अनुदान रकम पाइने व्यवस्था छ ।

तर, अन्तिम किस्ता रकम पुरै पाउन शौचालय, वैकल्पिक ऊर्जा, वायोग्याँस केही बनाएको हुनुपर्नेछ । यदी त्यो पुरा नभएमा २५ हजार कटाएर ७५ हजार दिइने बताइएकोे छ ।

लाभग्राही सूचीमा पर्दैमा पूरै अनुदान रकम पाइँदैन । भूकम्पले क्षति पुगेको घर भत्काएर नयाँ बनाएमा क्रमागत रुपमा तीन लाख पाइनेछ भने त्यही घर मर्मत गरेमा एक लाख मात्र पाइन्छ ।