October 18, 2017

लगानी सम्मेलन आजबाट सुरु, स्वदेशी तथा विदेशी गरी करिब ३ सय लगानीकर्ता सहभागी हुने अपेक्षा

काठमाण्डौ, १९ फाल्गुन । नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्यकासाथ सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन आजबाट सुरु हुंदैछ ।

आज र भोली गरी दुईदिनसम्म चल्ने सम्मेलनमा नेपालमा आर्थिक विकासको मेरुदण्ड मानिएका विभिन्न नौ क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल गरिने बताइएको छ । त्यस्तै, सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रसँग सम्बन्धित छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासका बारेमा समेत जानकारी गराइने छ  ।

सम्मेलनमा लगानीकर्ताका लागि विशेष सूचना कक्ष, लगानी अवसरबारे व्यवसायी तथा सरकारी निकायबीच छुट्टाछुट्टै छलफल समेत हुने बताइएको छ । सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका नेता, मन्त्रीगण, विभिन्न अन्तराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि समूह छलफलमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी, करिब ३ सय स्वदेशी लगानीकर्ता, नीतिनिर्माता तथा विज्ञ पनि सम्मेलनमा सहभागी हुनेछन् ।