लगानी सम्मेलनमा चीनको प्रतिनिधित्व धेरै हुने

काठमाण्डौ १६ फाल्गुन । यही फागुन १९ र २० गते सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनका प्रतिनिधि सहभागी हुने भएका छन् ।

उद्योग मन्त्रालयका अनुसार सम्मेलनमा संस्थागत र व्यक्तिगत लगानीकर्ता सहित चीनबाट ८९ जना प्रतिनिधि सहभागी हुने जनाएको हो ।

अर्को छिमेकी मुलुक भारतबाट २१ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । सम्मेलनमा श्रीलंकाका २०, मलेसिया १४, जापान १३ र क्यानडाका १२ जना प्रतिनिधिले सहभागीता जनाउने उद्योग मन्त्रालयले जानकारी दिएको छ ।

सम्मेलनमा नेपालमा लगानी सम्भावनाका क्षेत्र, लगानी आकर्षित गर्न नेपालले अगाडि बढाएका नीतिगत, प्रशासनिक एवं कानुनी सुधारका प्रयास तथा लगानीको तुलनात्मक लाभका विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनको प्रमुख वक्ताको रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली आउने जानकारी दिइएको छ ।

दुई दिने सम्मेलनमा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा विषयगत सत्रहरुमा छुट्टाछुट्टै कार्यपत्र पेश हुनेछ ।