August 22, 2017

रौतहटमा भोलीदेखि बृहत् स्वास्थ्य शिविर हुने

काठमाण्डौ, ७ चैत्र । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा हुने एक हप्ते बृहत् निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।

रौतहटको जिल्ला अस्पताल र ब्यारेक फिल्डमा भोली ८ गते देखि १४ गते सम्म हुने बृहत् स्वास्थ्य शिविरका लागि विषेशज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु, मोवाईल हस्पिटल, औषधी र उपकरणहरु शिविरस्थलमा पुर्‍याई सकिएको छ ।

शिविरमा हाईड्रोसिल, हर्निया, पत्थरी, पायल्स, पाठेघर लगायतको शल्यक्रिया गर्नुका साथै अन्य रोगहरुको पनि परिक्षणको व्यवस्था रहेको मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंहले जानकारी दिए ।

धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराह, सप्तरी, मकवानपुर, सिन्धुली लगायतका जिल्लाका बासिन्दालाई लक्षित गरी साताव्यापी शिविर आयोजना गरिएको उनले बताए ।

जनताकै घरदैलोमा विषेशज्ञ सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको मोवाईल हस्पीटल सहितको सघन स्वास्थ्य शिविर अन्य क्षेत्रमा पनि आयोजना गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सैनिक अस्पतालमा आम नागरिकले पनि उपचार सेवा पाउने गरी ओपीडि सेवा सुरु गराउने, विशिष्ट व्यक्तिहरुको उपचारलाई प्रभावकारी बनाउने लगायतका धेरै कामहरु यसअघि नै भईसकेका छन् ।