October 19, 2017

रोकिएका सडक पूरा गर्न १ अर्ब रुपैयाँ बजेट थप

काठमाण्डौ, २७ चैत्र । बहुचर्चित पाटन पञ्चेश्वर सडक खण्ड लगायत बैतडीमा निर्माणानिधिन विभिन्न सडक पुरा गर्न सरकारले करिब १ अर्ब रुपैयाँ थप गरेको छ ।

बहुवर्षीय योजना अन्तर्गत निर्माणानिधिन आवस्थामा रहेका र वर्षौं देखि पुरा हुन नसकेका बैतडीका विभिन्न सडकका लागि सरकारले ९६ करोड ५८ लाख ७९ हजार रुपैयाँ थप गरेको हो । लामो समय देखि सञ्चालनमा रहेका तर बजेटको अभाव लगायतका कारणले पुरा हुन नसकेका बैतडीका विभिन्न १५ वटा सडक खण्ड पुरा गर्नका लागि ९६ करोड रुपैयाँ बजेट थप गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका स्वकिय सचिव जनक भट्टले जानकारी दिए ।

जसमा सबै भन्दा बढी बजेट बहुचर्चित योजना रहेको पाटन पञ्चेश्वर सडक खण्डका लागि १९ करोड थप गरिएको छ । कुल ६२ किलोमिटर लम्बाई रहेको सो सडक २०३८ सालमा शिलान्याश गरिएको थियो । तीन दशक बित्न लाग्दा समेत गन्तव्यमा पुग्न नसकेको सो सडकको काम ९ किलो मिटर मात्रै बाँकि हुँदा फेरि रोकिएको छ ।

विगत दुई महिना देखि रोकिएको सो सडकको काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि मन्त्रीका स्वकिय सचिव भट्टले बताए । ‘पहिले भइसकेको कामलाई क्लियरिङ गरिरहेको छ । काम अघि छिट्टै बढ्छ । निर्देशन दिने काम भइसकेको छ,’ भट्टले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार डडेल्धुराको उग्रतारा देखि तल्लीस्वराडको मेलौली सडक खण्डका लागि कुल १९ करोड ९७ लाख ७९ हजार रुपैयाँ बजेट थप गरिएको छ । त्यसैगरि अन्य स्थानीय १३ वटा सडकका लागि ६ करोड रुपैयाँ थप गरिएको मन्त्रालयले जनाएको छ । ती सडकका लागि पैनै करोड भन्दा बढी यसअघि नै विनियोजित गरिएको थियो ।