August 17, 2017

रेडियो तथा टेलिभिजन नियमनका लागि छुट्टै निकायको आवश्यक–सञ्चामन्त्री

काठमाण्डौ, २४ चैत्र । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमनका लागि छुट्टै निकायको आवश्यकता भएको बताएका छन् ।

काठमाण्डौमा भएको कार्यक्रममा मन्त्री कार्कीले टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न मन्त्रालयबाट सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

संसारमा बढिरहेको प्रविधिको गति अनुसार नेपालमा तयारी नभएकोमा उनले दुख व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले २०७४ वैशाख १५ गतेसम्म महानगर र २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई प्रविधियुक्त टेलिभिजनमा लैजाने जानकारी दिए ।

डिजिटलाइजेशन नहुंदा आधिकारिक तथ्याङ्क आउन गाह्रो रहेको र सरकारले ६० लाख ग्राहकबाट प्राप्त हुने राजश्व गुमाउनु परेको उनको भनाइ थियो ।