Breaking News

रु. ३ लाखको गाडी १५ लाखमा बेचिन्छ

काठमाण्डौ १० माघ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले ठगी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले सवारीसाधन बिक्रीमा अस्वाभाविक शुल्क उठाएको भेटिएको छ ।

२ लाख ७५ हजार रुपैयाँ सुरुको मूल्य रहेको मारुती अल्टो एसटीडी ८०० गाडीलाई झन्डै तीन लाखदेखि ४ लाख रुपैयाँसम्म अस्वाभाविक शुल्क लिएको कम्पनीले आपूर्ति मन्त्रालयलाई बुझाएको विवरणमा नै स्वीकार गरेको भेटिएको हो । सो गाडीलाई उसले नेपालमा १४ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ ।

सो कम्पनीले भारतीय कम्पनीबाट मारुती अल्टो ८०० एसटीडी गाडी २ लाख ७५ हजार रुपैयाँमा खरिद गर्दै आएको छ । त्यो गाडी नेपालमा भित्रिनका लागि मूल्यको ७७ प्रतिशत भन्सार शुल्क, त्यसको ६० प्रतिशत अन्तःशुल्क र त्यसपछिको १३ प्रतिशत भ्याटसहित गर्दा कम्पनीले भन्सार बिन्दुमा  ६ लाख ४१ हजार ६१८ रुपैयाँ सरकारलाई तिर्दै आएको छ ।

नेपालमा ल्याइसकेपछि दर्ता गर्ने समयमा सडक करबापत ७ प्रतिशत करसहित उसले भन्सार बिन्दुमा तिर्ने करसमेत गरी ७ लाख ६ हजार ८३९ रुपैयाँ सरकारलाई तिर्छ ।

सरकारले मूल्य तोकेको वस्तुमा २० प्रतिशतभन्दा बढी फाइदा खान नपाउने भनिएको भए पनि यसमा सरकारले मूल्य नतोकेका कारण पनि धेरै ठगी हुने गरेको विभागका अधिकारीहरू बताउँछन् । यो खबर राजधानी दैनिकमा छ  ।

shares