August 17, 2017

रुपन्देही च्यालेन्जर्सद्वारा काठमाण्डौ गोल्डेन्स १५ रनले पराजित

कैलाली, १ वैशाख । धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गत पाँचौं दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाण्डौ गोल्डेन्सलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको छ ।

लगातार तेश्रो जितका साथ रुपन्देही च्यालेन्जर्स अंकतालिकाको शिर्षस्थानमा कायमै रहेको छ । हारपछि गोल्डेन्स ४ खेलमा २ जित र २ हार सहित तालिकाको दोश्रो स्थानमा छ ।

सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिङ् रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३५ रन बनायो । उसका लागि नुरधोज सेनले सर्वाधिक ३७ रन तथा पुष्प थापाले ३६ रनको योगदान दिएका थिए । गोल्डेन्सका बलर सोमपाल कामिले ४ विकेट हात पारे ।

१ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाण्डौ गोल्डेन्सले पूरा २० ओभर ब्याटिङ् गर्दै ९ विकेटको क्षातिमा १ सय २० रन बनाएपछि १५ रनको हार बेहोर्‍यो । गोल्डेन्सका ब्याट्सम्यान सुमित महर्जनले सर्वाधिक २७, शुबेन्दु पाण्डे र रोहित पौडेलले समान २० रनको योगदान दिए ।

बलिंग तर्फ रुपन्देहीका कप्तान शक्ति गौचनले सर्वाधिक ३ विकेट हात पारे भने बिक्रम सोब र कृष्ण कार्कीले समान २/२ विकेट लिए । खेलकोे म्यान अफ द म्याच ३६ रन बनाएका र १ विकेट लिएका पुष्प थापा घोषित भए ।