June 27, 2017

रुपन्देहीमा एमाले नेता ओमप्रकाश कशौंधन सहित ठुलो संख्या फोरम नेपालमा प्रवेश

बुटवल १९, फाल्गुन । नेकपा एमालेका प्रभावशाली नेतासहित ठुलो संख्यामा एमाले नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

एमाले मधेश विरोधी, परिवर्तन विरोधी र जनान्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै उनीहरुले एमाले परित्याग गरी फोरम नेपाल प्रवेश गरेको बताएका छन् ।

एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको क्षेत्र पूर्वअर्थ मन्त्री एवं निर्वाचित सांसद विष्णु पौडेलको क्षेत्र हो । ठूलाे संख्यामा प्रभावशाली नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेसँगै बुटवलमा एमालेलाई ठूलो धक्का लागेको छ ।

बुटवलमा प्रभावशाली नेताको छवि बनाएका ओमप्रकाश कशौंधन, एमालेको नगर कमिटी उपाध्यक्ष शायदा खातुन र अर्का नेता समिउल्ला शाहको नेतृत्वमा करिब तीन हजारको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेका छन् ।

बिहिबार बुटवलमा आयोजित एक समारोहमा नेता कशौंधन लगायत नवप्रवेशी नेता कार्यकर्ताहरुलाई संघीय समाजवादी फोरम नेपाल रुपन्देही क्षेत्र नं ४ का अध्यक्ष अशोक बर्माले पार्टी प्रवेश गराउँदै स्वागत गरेका छन् ।

नवप्रवेशी कशौंधनलाई संघीय समाजवादी फोरम नेपाल, बुटवलको नगर अध्यक्षमा चयन गरिएको छ । त्यस्तै एमालेको महिला नगर उपाध्यक्षको पदमा सक्रिय रहेकी शायदा खातुनलाई फोरम नेपालले क्षेत्र न‌‍ ४ को महिला संयोजकको जिम्मेवारी दिइएको छ ।

संविधान संशोधनको विपक्षमा उभिएर पछिल्लो समय मधेशका जिल्लाहरुमा कमजोर बन्दै गएको छ ।