October 17, 2017

राष्ट्रिय सुरक्षा नीति स्वतन्त्र र निष्पक्ष ढङ्गले कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ, २० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले कार्यान्वयन भए कि भएनन् भन्ने अनुगमन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई निर्देशन दिएका छन् ।

सचिवालयको आईतबार आयोजित १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने महत्वपूर्ण जिम्मेवारी सुरक्षा परिषद्ले पाएको उल्लेख गरेका छन् ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सचिवालयले विद्यमान परिस्थितिमा समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय–सुझाव प्रदान गर्न सक्षम हुनु पर्ने बताए ।

सचिवालयले राष्ट्रिय सुरक्षामा अहम् भूमिका खेल्दै आइरहेको बताउँदै प्रधानमन्त्री दाहालले विश्वको वर्तमान परिवेशमा सुरक्षा भन्नाले विविध क्षेत्रभित्रका बहुआयामिक विषयवस्तु समेटिएको राष्ट्रिय सुरक्षाको बृहत रणनीति भएको समेत बताए ।

उनले सुरक्षा बृहत् र बहुआयामिक विषय भएको र यसअन्तर्गत सार्वजनिक र निजी मूल्य मान्यता, राष्ट्रिय सम्मान र गौरवका विषयवस्तुलगायत आम जनताको जीउधनको सुरक्षा एवं सामाजिक मूल्य मान्यताको संरक्षण पर्ने बताए ।