राष्ट्रिय सम्मानकासाथ गोविन्द गौतमको अन्त्येष्टि

सुशील ढुंगाना
कञ्चनपुर २९ फाल्गुन । भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली नागरिक गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिएको छ ।

कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका पिता ७२ बर्षीय खेमलाल गौतमले दागबत्ती दिए । उनको अन्त्यष्टी भएको दोदा आर्यघाटमा नेपाल प्रहरीको एक टुकुटीली अन्तिम सहिद सलामी दिएर राष्ट्रिय सम्मान प्रदान गरिको थियो ।
गौतमको अन्त्येष्टी कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौं नागरिकले स्वतः स्फुर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो ।

होली नमनाउने घोषणा गर्दै कैलाली र कञ्चनपुरका हजारौंले शवयात्रामा सहभागिता जनाएका थिए । सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो ।

उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सीधै दोदा नदी किनार लगिएको थियो ।

नेपाल–भारत सीमाभन्दा निक्कै वर आनन्दबजारमा कल्वर्ट राख्ने बिषयमा सुरु भएको विवादले उग्ररुप लिँदा भारतीय एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए ।