October 19, 2017

राष्ट्रिय मुसहर संघको चेतावनी

दिनेश शर्मा
राजविराज, २० चैत्र । छुवाछुत विरुद्धको ऐन व्यवहारिक रुपमा कार्यान्वयन नभए गैरदलित विरुद्ध छुवाछुतको अभियान सुरु गर्ने नेपाल राष्ट्रिय मुसहर संघले चेतावनी दिएको छ ।

आईतबार बिहान राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरेर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले यस्तो चेतावनी दिएका हुन् ।

सप्तरीको नेंगडास्थित जोगिया–जाँजरमा चैत्र २५ देखि तीन दिनसम्म आयोजना हुन लागेको मुसहरहरुको राष्ट्रिय स्तरको मेला बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष सदाले छुवाछुत विरुद्ध ऐन कानून बने पनि मुसहर, डोम, चमार, खत्वे, दुसाध लगायतका दलितले अझै पनि अपहेलित भई बस्नु परेको बताए ।

उनले भने, ‘मुसहर लगायतका दलित माथि कायम रहेको विभेद व्यवहारमा अन्त्य नभएसम्म जातिय एकता जरुरी छ, जोगिया जाँजरमा यस्तै एकताको प्रदर्शनका लागि मेलाको आयोजना गर्न लागिएको हो ।’
देशका ३२ जिल्लामा रहेका मुसहरहरुको १२ लाख ५० हजार जनसंख्या रहे पनि राजनीतिक, प्रशासनिक लगायतका क्षेत्रमा अझै पहुँच हुन नसकेको भन्दै उनले आदिवासीका रुपमा रहेका मुसहर सामाजिक, सांस्कृतिक तथा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा समेत पछि परेको बताए ।

मेला उद्घाटन सत्रमा भारत बिहारका पुर्व मुख्यमन्त्री जितनराम माझी, विधायक रत्नेश्वर माझीलगायतको समेत सहभागिता रहने बताइएको छ ।