राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र बुझायो

काठमाण्डौ, ५ वैशाख । काठमाण्डौमा क्रियाशील फोटो पत्रकारहरुको टोली राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

टोलीले बिहीबार दिउँसो प्रधानमन्त्रीलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा फोटो पत्रकारहरुको कार्यालय भवन स्थापनामा सहयोग गर्न, फोटो पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न, जीवन बीमाको व्यवस्था गर्न, सूचना विभागबाट प्रेस पासको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै राजकीय र उच्चस्तरीय भ्रमणहरुमा पत्रकारहरु सहभागी गराई पर्यटन प्रबर्द्धन गर्न, फोटो पत्रकारहरुका लागि ५० लाखको अक्षय कोष स्थापना गर्न, फोटो पत्रकारहरुलाई वार्षिक सम्मानको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।