राष्ट्रिय चिकित्सा विधेयक प्रावधानमाथि चिकित्सा संस्थाको विरोध

काठमाण्डौ, १८ चैत्र । प्रस्तावित राष्ट्रिय चिकित्सा विधेयक–२०७३ का केही प्रावधानमाथि चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाले नै विरोध जनाएका छन् ।

महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिले विधेयकका विषयमा धारणा बुझ्न शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा काठमाण्डौ विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुले विधेयकले प्रस्ताव गरेको आयोग गठनसम्बन्धी प्रावधानमाथि असहमति जनाएका हुन् ।

उनीहरुले चिकित्सा शिक्षण संस्थाको नियमन गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन छुट्टै आयोगको आवश्यकता र औचित्य नरहेको बताएका थिए ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले विश्वविद्यालयको स्वायत्तलाई कटौती गरी आयोग नबन्ने स्पष्ट पारे । उनले चिकित्सा शिक्षाको नीति, विधि र संस्थागत विकास गर्न राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आवश्यकता रहेको बताए ।

समितिका सभापति रञ्जुकुमारी झाले सरोकार निकायको राय सुझाव लिएर मात्र प्रस्तावित विधेयकलाई टुङ्गो लगाइने आश्वासन दिनुभएको छ । उक्त विधेयक समितिमा छलफलको क्रममा रहेको छ ।