October 22, 2017

राष्ट्रपति भण्डारीको भारत भ्रमण सफल भएको परराष्ट्रमन्त्री महतको दाबी

काठमाण्डौ, ६ वैशाख । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा रहेका मन्त्री महतले बुधबार बिहान स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिको भ्रमण दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन फलदायी भएको बताए ।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेको प्रयासप्रति सद्भाव प्रकट गरेको मन्त्री महतले जानकारी दिए ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भारतका राज्यमन्त्रीले स्वागत गरेको भन्ने पत्रकारहरुको जिज्ञासमा मन्त्री महतले भण्डारीलाई भारत सरकारले दिएको सम्मानमा कुनै कमी नभएको स्पष्ट पारे ।

भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत भारत सरकारको वरिष्ठ मन्त्रिगणसँग भेटघाट तथा सौहार्द्रपूर्ण कुराकानी भएको परराष्ट्रमन्त्री महतले जानकारी दिए ।