राष्ट्रपतिको कार्यालयद्वारा विभिन्न देशका लागि राजदूत नियुक्ति

काठमाण्डौ, ८ चैत्र । राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशका लागि नेपाली राजदूत छनोट गरिएको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा विभिन्न देशका लागि राजदूत नियुक्ति गरिएको बताइन् ।

संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत रमेश प्रसाद खनाललाई चेक गणतन्त्र, पोल्याण्ड र स्लोभाक गणतन्त्रका लागि राजदूतको पदमा नियुक्त गरिएको हो ।

त्यस्तै संघीय जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा कार्यरत लीलामणि पौड्याललाई गणतन्त्र मंगोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि राजदूतको जिम्मेवारी दिइएको हो ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत पदमा कार्यरत डा. दुर्गाबहादुर सुबेदीलाई आयरल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।