May 25, 2017

राप्रपाद्वारा आन्दोलनको घोषणाः हिन्दुराष्ट्रबारे संविधान संशोधन प्रस्ताव टेबल गर्ने निर्णय

काठमाडौ ५ चैत्र ।  निर्वाचन आयोगले पार्टीको विधानबाट आफ्नो मूल एजेण्डा राजतन्त्र र हिन्दु राष्ट्र हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन गर्ने भएको छ।

पार्टीको विधानमा उल्लेख भएको ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ हटाएको विरोधमा राप्रपाले आन्दोलनको घोषणा गरेको हो।

 

राप्रपाले निर्वाचन आयोगको निर्णयको प्रतिक्रिया स्वरुप संविधानबाट धर्मनिरपेक्षता हटाउन र हिन्दु राष्ट्र राख्न माग गर्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय समेत गरेको छ ।

राप्रपाले निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय तह चुनावको वातावरण बिग्रिन सक्ने चेतावनी दिएको छ ।

यस्ता छन आन्दोलनका कार्यक्रम
जिल्ला सदरमुकाममा चैत ७ गते जुलुससहित गएर जिल्ला निर्वाचन कार्यालय समक्ष ज्ञापनपत्र बुझाउने र एक घण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने ।

निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र आयोग समक्ष ज्ञापनपत्र बुझाउने ।
चैतको तेस्रो हप्ताबाट हिन्दु राष्ट्र पुनर्स्थापनाकाे माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संघर्ष गर्ने ।

धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनर्स्थापनाकाे लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने ।