August 16, 2017

राज्य व्यवस्था समितिको विधेयक संशोधन सहित पारित

काठमाण्डौ, १३ चैत्र । २०३३ सालमा बनेको सामाजिक सुधार ऐनले तोकेको व्यवस्थालाई परिमार्जन गर्न बनेको विधेयक संसदीय समितिले संशोधन सहित पारित गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको व्यबस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समितिले २०७१ साल जेठमा गृहमन्त्री वामदेव गौतमले पेश गरेको उक्त विधेयकलाई संसोधन सहित पारित गरेको हो ।

गौतमको पालामा ल्याइएको विधेयकमा बिहे भोजमा ३ सय ५० जनासम्मको संख्या तोकिएकोमा अहिले त्यसलाई बढाएर ५ सय १ पु‍र्‍याइएको छ । १ सय ५० भन्दा बढी जन्ती लगे वा ५ सय १ भन्दा बढीलाई भोजमा बोलाए ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनले गरेको छ ।

त्यसैगरी गौतमले पेश गरेको विधेयकमा विवाह बाहेकका पास्नी, व्रतबन्ध लगायतका भोजमा सय जनाभन्दा बढीलाई बोलाउन नपाइने व्यवस्था भएकोमा समितिले त्यो संख्यालाई बढाएर २ सय ५१ जना पु‍र्‍याएको छ ।

विधेयकमा विवाह, व्रतबन्ध जस्ता सामाजिक व्यवहार गर्ने व्यक्तिले त्यस्तो व्यवहार सम्पन्न भएको मितिले ३५ दिनभित्र आफूले गरेको सामाजिक व्यवहार र त्यसमा गरेको खर्चको विवरण सम्बन्धित स्थानीय तह समक्ष पेश गर्नुपर्ने व्यवस्था राखिएको छ ।

खर्च विवरण नबुझाए १० हजार रुपैयाँ जरिवानाको व्यवस्था विधेयकले गरेको छ ।