October 22, 2017

राज्यव्यवस्था समितिद्वारा वार्षिक प्रतिवेनको मस्यौदा पारित

काठमाण्डौ, १५ चैत्र । व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकले आफ्नो वार्षिक प्रतिवेदनको मस्यौदालाई पारित गरी आगामी सदनको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सो प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै सदनमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिवेदन मस्यौदा पेस गर्न समितिका सदस्य आनन्द ढुङ्गानाको संयोजकत्वमा डा. गङ्गालाल तुलाधर, धर्मेन्द्रकुमार साह तेली, प्रेम सुवाल र महेन्द्रबहादुर शाही सदस्य रहेको उपसमिति गठन भएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि गठित ४९ सदस्यीय समितिले पहिलोपटक आफ्नो प्रतिवेदन मस्यौदा तयार पारेको हो ।

समितिमा नेपाली कांग्रेसका १६, नेकपा (एमाले) १५, नेकपा (माओवादी केन्द्र) ५, राष्ट्रिय प्रजातन्त्र पार्टी २, मधेसी जनअधिकार फोरम १, तराई मधेस लोकतान्त्रिक पार्टी १, नेकपा (माले) लगायत साना दलको १–१ सदस्य छन् ।

समितिको बैठकले सामान्य प्रशासन, गृह, रक्षा, निर्वाचन आयोग, लोकसेवा आयोगलाई दिएको निर्देशन र तिनको कार्यान्वयनको अवस्था असन्तोषजनक हुनाका साथै फितलो रहेको निष्कर्ष निकालेको छ ।

मस्यौदाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलाई समयसापेक्ष दक्ष र प्रभावकारी बनाउन आवश्यक तालिम र स्रोत साधनले सम्पन्न बनाउन सुझावसमेत दिएको छ ।