September 26, 2017

‘राजविराज नगर सीमांकन सुधारका गर्न प्रधानमन्त्रीलाई ज्ञापन

दिनेश शर्मा
राजविराज, ०७ चैत्र । ‘राजविराज नगर सीमांकन सुधार संघर्ष समिति’ ले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाउँदै नगरपालिकाको त्रुटिपुर्ण नयाँ संरचनामा सुधार नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

नगरपालिकामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै संकटमा पर्ने ठहर गर्दै नगरवासीको बृहत् भेलाले पुर्व मेयर शैलेश चौधरीको संयोजकत्वमा समितिले ज्ञापन पत्र मार्फत यस्तो चेतावनी दिएको हो ।

स्थानीय तह पुनःसंरचनाका क्रममा अव्यवहारिक र अवैज्ञानिक ढंगले थप गरिएका गाविसहरुका कारण राजविराज नगरपालिका आर्थिक, सामाजिक, राजनैतिक, औद्योगिक, शैक्षिक लगायत विकास निर्माणका दृष्टिकोणले वर्षौपछि धकेलिएको समितिको ठहर छ ।

पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने काम भएको बताउँदै संघर्ष समितिका संयोजक चौधरीले भने, ‘अविलम्ब त्रुटि नसच्याए दोश्रो चरणमा आन्दोलनका सशक्त कार्यक्रमहरु अघि बढ्छन् ।’

स्थानीय तह पुनःसंरचना गर्दा नगर र जिल्लावासीको फाईदा भन्दा चुनावी नाफाघाटा मात्र हेरिएको प्रष्ट हुने भन्दै उनले जनतासँग राय सुझाव नै नलिई काठमाण्डौमा बसेर गरिएको सीमांकन कुनै पनि हालतमा स्वीकार नहुने समितिले जनाएको छ ।

सप्तरीका सिडिओ कृष्णवहादुर कटुवालले ज्ञापन पत्र बुझ्दै सम्बन्धित ठाउँमा पठाउने र माग सम्बोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने आश्वासन दिएका छन् ।