June 24, 2017

राजविराजमा गोइत समूहको आतंक, स्कुलमा बम भेटियो

दिनेश शर्मा
राजविराज, १७ फाल्गुन । सप्तरीको राजविराजस्थित एक विद्यालयमा मङ्गलवार पुनः बम भेटिएको छ ।
राजविराज न गरपालिकाको वडा नम्बर–९ स्थित पिस जोन ईङ्गलिस बोर्डिङ्ग स्कूलको प्रवेशद्वारमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

बम भेटिएको स्थानमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइतको पर्चा भेटिएको सप्तरीका एसपी दिवेश लोहनीले बताएका छन । केही बर्ष  यता तराइमा निस्क्रिय जस्तै रहेकाे गाेइत समूहले फेरी अातंककारी गतिविधी सुरू गरेपछि सप्तरी  जिल्लामा सर्वसाधारण अातंकित बनेका छन ।
मोर्चाका केन्द्रीय संयोजक  गोइतले जारी गरेको विज्ञप्तिमा गत मंसिर २३ गते घोषणा गरिएको तराई बन्दको आह्वानलाई अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भन्दै आफूहरुले कार्वाही स्वरुप विद्यालयको प्रवेशद्वारमा बम राखिएको जनाइएको छ ।

यसअघि गत माघ महिनामा गाईतकै कार्यकर्ताले राजविराज–१ मेनरोडस्थित फुसराज दुगडको घर अगाडि ग्रिनेड बम र मङ्सिर महिनामा पनि उनकै कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय सप्तरी परिसरमा प्रेसर कुकर बम राखेका थिए । प्रेसर बम निस्क्रिय बनाउने क्रममा चारजना सुरक्षाकर्मी समेत घाइते भएका थिए ।