October 21, 2017

राजपा नेतृत्वलाई चुनाैती, कार्यकर्ताले दिए स्वतन्त्र उम्मेदवारी

काठमाण्डौ, ५ असार । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) नेतृत्वले दोस्रो चरणको चुनाव विथोल्ने नीति लिए पनि स्थानीय कार्यकर्ताले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

रुपन्देहीका तीन स्थानीय तहका सबै पदमा उनीहरुले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् । रुपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहरिमाई गाउँपालिकामा क्रमश: अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिए ।

अघिल्लो चुनावी संरचनामा रुपन्देही ६ मा पर्ने यी गाउँपालिका राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छन् । शुक्ल यसै क्षेत्रबाट निर्वाचित सांसद हुन् । १ सय ११ पदमा राजपा नेताहरुको उम्मेदवारी परेको छ ।

राजपाले आफ्ना कार्यकर्ताबाट दिइएको उम्मेदवारीबारे आएका खबर पुष्टि गरेको छ । राजपा स्रोतका अनुसार माग सम्बोधन नहुन्जेल चुनावमा नजाने पार्टी नीतिप्रति असन्तुष्टि जनाउँदै शुक्लले यसअघिका पार्टी बैठकहरुमा पटक-पटक चुनावमा प्रतिनिधि जिताउनुपर्ने तर्क गर्दै आएका थिए ।

उनीलगायत केही उच्च नेताहरुको प्रयास असफल भएपछि अन्नत: स्वतन्त्र हैसियतमा भए पनि मनोनयन दिलाउने रणनीतिमा पुगेका हुन् । याे खबर कान्तिपुर दैनिकमा छ ।