October 24, 2017

राजनीतिक अस्थिरताको मुख्य कारक नेपाली काँग्रेस : महन्त ठाकुर

उद्धव घिमिरे / विराटनगर, १२चैत । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका कारण राजनीतिक अस्थिरता बढिरहेको बताएका छन ।

बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले भने – ‘सबैभन्दा ठूलो दल हुनुका नाताले नेपाली काँग्रेसले नेपाली राजनीतिमा देखापरेका समस्याहरुको समाधानकालागि अग्रसरता देखाउनु पर्छ ।’ तर नेपाली काँग्रेसले इच्छाशक्ति नदेखाउँदा मुलुकले निकास पाउन सकिरहेको छैन – ठाकुरले भने ।

देशमा राजनीतिक स्थिरताका लागि मधेसीहरुको हक अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन र त्यसपछि सँविधानको कार्यान्वयन अहिलेका मुख्य विषय भएकाले नेपाली काँग्रेसले यसमा पहलकदमी लिई मुलुकलाई समृद्धिको बाटोमा लैजान इच्छाशक्ति देखाउनुपर्ने बताए ।

ठाकुरले सिमाङकन सहितको संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव रहेको बताउदै मधेसी मोर्चालाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सिमांकन सहित परिमार्जन गरेर संविधान संशोधन गर्नु पर्छ भने ।

मधेस र मधेसी जनतालाई उपेक्षा गरेर निर्वाचन सफल नहुने भएकाले निर्वाचनमा सवैको सहभागिताका लागी  सिमांकनको विषय  टुंगोमा पुर्याउनुपर्ने उनको भनाई थियो ।