August 24, 2017

राखेपले तेस्रो लिंगीहरुको लागि खेलकुद आयोजना गर्ने

काठमाण्डौ,२८ चैत्र । राष्ट्रिय खेलकुद परिषद् राखेपले तेस्रो लिंगीहरूका लागि बृहत खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राखेपले आर्थिक वर्ष २०७४।७५ मा विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएको प्रस्तावमा तेस्रो लिंगीको खेलकुद पनि समावेश गरेको छ ।

राखेप सदस्यसचिव केशवकुमार विष्टले आगामी वर्षका लागि प्रस्ताव गरेको नयाँ कार्यक्रममा तेस्रो लिंगीबीच बृहत खेलकुद आयोजना गर्ने विषयलाई पनि प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिनुभयो ।

विश्वमै तेस्रो लिंगीहरूको खेलकुद निकै कम हुने गरेको छ । तेस्रो लिंगीको विषयलाई लिएर विश्व खेलकुदमा समय समयमा विवाद पनि देखिने गरेको छ । सदस्यसचिव विष्टले तेस्रो लिंगी पनि देशका नागरिक भएकाले उनीहरूलाई समान दृष्टिले हेर्नुपर्छ भन्ने मान्यतासहित यस्तो प्रस्ताव अघि सारिएको जानकारी दिए । ‘तेस्रो लिंगी हुनुमा उनीहरूको दोष छैन । उनीहरू पनि देशका नागरिक हुन, हाँसो र खिसीका पात्र होइनन । त्यसैले उनीहरूलाई पनि खेलकुद क्षेत्रमा समाहित गर्न तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा हौं, विष्टले भने ।

तेस्रो लिंगीहरूको खेलकुद प्रतियोगितामा समावेश गरिने खेल, त्यसको संरचना र सहभागिताको विषयमा आवश्यक छलफल भइरहेको जानकारी पनि उनले दिए । ‘हरेक वर्ग, क्षेत्र र उमेर समूहका व्यक्तिलाई खेलकुदमा समाहित गर्ने हाम्रो नीति हो । त्यसैलै आगामी आर्थिक वर्षका लागि केही फरक कार्यक्रम अघि सारेका छौं, त्यसमध्ये तेस्रो लिंगीको खेलकुद नितान्त नयाँ अवधारणा हो ।

उहाँका अनुसार राखेप च्याम्पियनसिप भने सम्बन्धित संघले नै आयोजना गर्नेछन । राष्ट्रपतिको नाममा छुट्टै महिला प्रतियोगिता र उपराष्ट्रपतिको नाममा यू—१४ उमेर समूहको प्रतियोगिता पनि आयोजना गरिनेछ । यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।