October 23, 2017

रक्सी खाएर बर्दियामा हात्ती मात्तिए पछि

काठमाण्डौ, १३ चैत्र । मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ । यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वस्तीमा ।

हात्ती निकुञ्जबाट निस्केर बस्तीमा पस्छन् र खोजी खोजी जाँड रक्सी खान्छन् अनि घर भत्काउने, मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन्, आठ महिनादेखि लगातार रुपमा मात्तिएका हात्तीको झुण्ड बस्तीमा पसेर धनजनको क्षति पुर्याउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । यस अवधिमा हात्तीले कुनै पनि दिन बस्ती छाडेको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले भने ‘एउटा बस्तीबाट भगायो अर्को बस्तीमा छिर्छन् अर्को बस्तीबाट धपायो फेरि पहिलेको बस्तीमा पस्छन् । जाँड रक्सीका भाँडा खोजेर घरभित्र पस्छन् । अनि मात्तिएर हानि नोक्सानी पुर्याउँ छन् । यस अवधिमा बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भइसकेको छ ।

निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएका हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ । यो खबर आजको गोरखापत्रमा छ ।