June 27, 2017

रकम अभाव हुदा धादिङका भुकम्प पीडितको पुर्ननिर्माण प्रभावित

केशव भुल

२४ माघ, धादिङ ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पबाट पीडित धादिङ सत्यदेवी गाविस वडा नम्वर ६ का जयजा गोम्जाले अनुदानको ५० हजार रुपैया त पाए तर, उक्त रकमले मात्रै घरको निर्माण हुननसक्ने भएपछि आफुले घर बनाउने काम सुरु गरेका छैनन् ।
सोही गाविस वडा नम्वर ९ का नेमाचिङ पाख्रिनको पनि ३० वर्ष अगाडी ५ लाख लगानी गरेर निर्माण गरेको घर भत्कीयो । भूकम्प गएको करिव २ वर्ष पुग्नै थाल्यो तर भत्किएको घर जस्ताको त्यस्तै छ । नेमाचिङ ५० हजारले आफु पनि घर बनाउन नसक्ने भन्दै र सरकारले पनि ३ लाख दिन्छ कि दिदैन भनेर अन्यौलमा परिरहेकी छिन् ।

सोही गावीसका ६७ वर्षिय राते वाइवाले भने प्राविधिककै सहयोगमा घर पुर्ननिर्माण कार्य सुरु गरीसकेका छन् । एक कोठाको मात्रै घर निर्माणका लागी अहिलेसम्म २ लाख ५० हजार खर्च गरीसकेका वाइवाले ज्यामीले मागेजती पैसा दिन नसकेकाले घर निर्माण कार्य रोकीएको बताए ।
भूकम्पबाट क्षतिग्रस्त धादिङको सत्यदेवी गाविसका भूकम्प पीडितहरुले रकम अभावका कारण घर निर्माणको सुरुवात गर्न सकेका छैनन् । भत्किएका घर पुनर्निर्माणका लागि सरकारले पहिलो किस्ता स्वरुप ५० हजार रुपैया वितरण गरे पनि उक्त रकमबाट घरको निर्माण कार्य पुरा नहुने भएपछि धादिङ सत्यदेवी गाविसमा पुर्ननिर्माण कार्य प्रभावित भएको हो ।

एकातिर एक घरका दुइ दाजुभाइ छुट्टीएपनी एकै घरमा बसीरहेकाले एक जनाले अनुदान पाएकाे र अर्काेले नपाएकाे सत्यदेवी गावीसका समाजसेवी रनबहादुर तामाङकाे ठहर छ । अधिकांशले पुर्ननिर्माणका लागी अनुदान पाएपनि केही पीडितको नाम छुटेकोले गुनासो गरेको र केहीले रातो कार्ड पाएर पनि अनुदान रकम नपाएको तामाङकाे भनाई छ । धादिङ क्षेत्र नम्वर एकका जनप्रतिनिधी दिलमान पाख्रिन भने बास्तविक छुटेका भूकम्पपीडितको नाम पठाइसकेको बताए ।

राजधानी काठमाडौंसंगै जोडिएको धादिङ जिल्लाको सत्यदेवी गाविस जिल्लाकै सबैभन्दा बढी क्षतिग्रस्त तेस्रो गाविस हो । यस गाविसमा ९५ प्रतिशत भन्दा बढी जनसंख्या तामाङ समुदायको छ । भूकम्पमा परि यहांका ४२ जनाले ज्यान गुमाउनुकासाथै कैयौ घाइते भएका थिए ।