यो सरकारले निर्वाचन गराउन सक्दैन– बिजुक्छे

काठमाडौं, १६ फाल्गुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा सोमबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताए ।

उनले जहिलेसम्म संविधान संशोधन हुँदैन त्यसबेलासम्म सरकार नरहने भएकोले यो सरकारको औचित्य नभएको बताए । उनले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्नेमा उनले जोड दिनु भयो । संविधान संशोधन नभएसम्म वर्तमान सरकार टिक्ने र वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने उनको भनाइ छ ।

अध्यक्ष बिजुक्छेले मधेशी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गरेका छन् । उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र नयाँ सरकार गठनपछि मात्र निर्वाचन हुने बताउँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए ।