August 21, 2017

यो वर्ष कुल व्यापार घाटा ८ खर्ब नाघ्ने

काठमाण्डौ, ११ चैत्र । तीव्र रूपमा आयात बढेसँगै यो वर्ष कुल व्यापार घाटा ८ खर्ब रुपैयाँ नाघ्ने भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्यांकका आधारमा वार्षिक व्यापारघाटा ८ खर्ब नाघ्ने आकलन गरिएको हो। त्यो हालसम्मकै सबैभन्दा बढी हुनेछ।

सात महिनामै व्यापार घाटा सवा ५ खर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष नेपालको कुल व्यापार घाटा ७ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ थियो । अर्थविद् पोषराज पाण्डेले भने, ‘देशभित्र उत्पादन नभएपछि आयात घट्दैन र त्यसले घाटा पनि बढाइरहन्छ ।’
पुनर्निर्माणले गति लिने र सरकारले पुँजीगत खर्च पनि बढाउने हो भने घाटा ९ खर्बसम्म पुग्ने आकलन अर्थविदहरूको छ । पुनर्निर्माणको दोस्रो किस्ता वितरण बढ्न गयो भने यसले पनि माग बढाउनेछ।

व्यापार घाटा गत वर्षको भन्दा बढी हुने राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए।

नाकाबन्दीको कारण अघिल्लो वर्ष अपेक्षित रूपमा आयात हुन नसकेको जनाउँदै उनले भने, ‘अवस्था सामान्य छ, पुँजीगत खर्च बढ्दो छ, यसले आयात बढाउँछ ।’

चालु आर्थिक वर्षको सात महिनामा व्यापार घाटा ६६ दशमलव २ प्रतिशतले बढेको छ। ०७२ माघसम्म व्यापार घाटा करिब २१ प्रतिशतले घटेको थियो। सात महिनामा ५ खर्ब ९८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । त्यसमध्ये ५ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आयात र बाँकी ४२ अर्ब १८ करोड रुपैयाँको निर्यात भएको छ । साउनमा ६३ अर्ब ६७ करोड रुपैयाँ रहेको यस्तो घाटा भदौमा १ खर्ब ३५ अर्ब, असोजमा २ खर्ब १ अर्ब, कात्तिकमा २ खर्ब ७७ अर्ब, मंसिरमा ३ खर्ब ५२ अर्ब र पुसमा ४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको थियो भनि आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित भएको छ ।