September 26, 2017

योजना अायोगकाे उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त

काठमाण्डौ, १९ साउन । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले वाग्लेलाइ योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । केही दिनअघि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजिनामा दिएपछि सो पद रिक्त थियो ।

नवनियुक्त डा. वाग्ले यसअघि दुई पटक आयोगको सदस्य थिए । बैठकले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बढुवा हुनेमा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई छन ।

बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री बस्नेतले सो रकमबाट पाँच वर्षभित्र त्यस क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने जानकारी दिनुभयो ।