यू–१६ क्रिकेट प्रतियोगितामा कालिकोटको फराकिलो जीत

काठमाण्डौ, २३ चैत्र । बुधबारबाट शुरु भएको नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कालिकोट क्रिकेट क्लब विजयी भएको छ ।

काठमाण्डौको बुढानीलकण्ठ स्थित बुढानीलकण्ठ स्कुलको मैदानमा बुधबार भएको उद्घाटन खेलमा कालिकोटले ललितपुरको स्पोर्टस साइन्स एकेडेमी (सान) रातो टिमलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र एक सय १३ रन बनाएको थियो ।

सानका लागि सुमित घिमिरेले सर्वाधिक ४२ रन बनाए भने मनिष तामाङले १५ रन बनाए । कालिकोटका बबिन बडालले दुई विकेट लिए । त्यस्तै सागर आचार्य, मबिन शर्मा र सागर घिमिरेले एक एक विकेट लिए । १ सय १४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कालिकोट टिमले मात्र एक विकेट गुमाई १० दशमलब ५ ओभरमा लक्ष्य पुरा ग¥यो ।

कालिकोटका लागि ओपनर बबीन बडालले सर्वाधिक ५३ रन बनाए भने अर्का ओपनर सूर्य बमले अविजित ४० रनको पारी खेले । सागर घिमिरे आठ रनमा अविजित रहे । मात्र २१ बलमा ५३ रन बनाएका बडाल म्यान अफ द म्याच घोषित भए ।